काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मोरङमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो भने अन्य दुई जना घाइते भएका छन् तथा महोत्तरी र ललितपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा एक/एक जनाको मृत्यु भएको हो ।

मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगााउँमा शनिबार राति माइक्रो बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा आएका २ जनाको मृत्यु भएको छ भने माइक्रो चालक र परिचालक भने भने घाइते भएका छन् ।

पुर्वबाट पश्चिमतर्फ आउदै गरेको प्रदेश २–०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ६९६ नम्बरको हाइस माइक्रो एक आपसमा ठोक्किँदा घाइते भएका मोटरसाइकलमा आएको दसवै जनाको उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको हो ।


उनीहरुको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

घाइते भएका माइक्रो चालक र परिचालकको कोशी अस्पतालमै उपचार भइरहेको छ । माइक्रो चालकले मदिरा पिएर सवारी साधन चलाएको पाइएको छ ।

यस्तै, महोत्तरीको गौशाला नगरपालिका–३ नबराजपुरमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौशाला नगरपालिका–४ रजखोरका २५ वर्षीय केदार आले मगर रहेका छन् ।

औरहीबाट गौशालातर्फ जाँदै गरेको ज २ प ५८७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा गम्भीर घाइते भएका आलेको उपचारको क्रममा शुभ स्वस्तिक अस्पताल वर्दिबासमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

यसैगरी, ललितपुरको महालक्ष्मी नगरपालिका–१० कोर्टडाँडामा शनिबार साँझ मोटरसाइकल पल्टिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी चढेका ललितपुरको गोदावरी नगरपालिका–२ घर भई काठमाडौंको चावहिल बस्ने ४९ वर्षीय मरिचमान नगरकोटी रहेका छन् ।

बा १९ प ६५०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकल सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोर्टडाँडामा रहेको जग्गा हेर्न जाने क्रममा उक्त दुर्घटना भएको चालकले प्रहरी समक्ष बयान दिएका छन् ।


प्रकाशित मितिः २०७७ साल फागुन २३ गते आइतबार, १०:५३