काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कास्की र चितवनमा भएको दुर्घटनामा एकएक जनाको मृत्यु भएको हो ।

कास्कीको पोखरा महानगरपालिका–३० शिशुवा चोकमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बेगनासबाट शिशुवातर्फ जाँदै गरेको ग १ ज २२५८ नम्बरको ट्याक्सीले सोही दिशातर्फ जाँदै गरेको ग १२ प ४७०७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा, बिपरित दिशातर्फ जादै गरेको ग १ त ४३०४ नम्बरको ट्याक्टरमा स्कुटर ठोकिएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक कास्कीकै पोखरा महानगरपालिका–३१ भङज्याङका ६५ वर्षीय सोमराज सापकोटाको उपचारका क्रममा पश्चिम क्षेत्रिय अस्पताल पोखरामा मृत्यु भएको छ ।


ट्याक्सी र ट्याक्टर चालकलाई इलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएको छ ।

यसैगरी, चितवनको खैरहनी नगरपालिका एक ज्यामिरे चोकमा आज टिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थल मै मृत्यु भएको छ ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका एकका ५५ वर्षीय दिल कुमार थापा मगर रहेका छन् ।

पुर्व पश्चिम राजमार्गमा ना ८ ख ५८७५ नम्बरको टिपरले ना ५१ प ९६०३ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा उनको घटनास्थल मै मृत्यु भएको हो ।

ठक्कर दिने टिपर सहित चालकलाई इलाका प्रहरी कार्यालय खैरहनीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत २६ गते बिहीबार, १५:५९