काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । पाल्पा, मकवानपुर र इलाममा भएको दुर्घटनामा एक/एक जनाको मृत्यु भएको हो । यस्तै, मकवानपुरमा भएको दुर्घटनामा अन्य दुई जना घाइते भएका हुन् ।

पाल्पाको निस्दी गाउँपालिका–५ मा शुक्रबार राति ट्याक्टरले किचेर परिचालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय १९ वर्षीय टेक बहादुर जर्गा मगर रहेका छन् ।

बेलौचीबाट ढुङगानाबेशीतर्फ जाँदै गरेको लु ४ त ६९८१ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा मगरलाई किचेको हो ।

ट्याक्टर चालकलाई इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएको छ ।


यस्तै, मकवानपुरको मनहरी गाउँपालिका–९ खरंगामा शुक्रबार साँझ ट्रकको ठक्करबाट अटो रिक्सामा आएका एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

मनहरीबाट हेटौंडा तर्फ जाँदै गरेको ना ५ ख ४७०४ नम्बरको ट्रकले, ना १ ह ७१९४ नम्बरको रिक्सालाई ठक्कर दिँदा मनहरी–९ रजैयाका ३१ वर्षीय कुमार राना मगरको मृत्यु भएको हो ।

घाइते भएका अटोमा आएका ५३ वर्षीय अर्जुन कुमार स्याङतान र उनका १० वर्षीय छोरा सन्देशको हेटौंडा स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटना पश्चात् फरार रहेका ट्रक चालकको खोजी भइरहेको छ ।

यसैगरी, इलामको सुर्योदय नगरपालिका–५ गोराखमा शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

स्थानीय २३ वर्षीय मुस्कान प्रधानको मृत्यु भएको हो ।

मानेभञ्ज्याङबाट गोराखतर्फ जाँदै गरेको मे ३ प ९६२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा फिक्कल अस्पताल इलाममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख ११ गते शनिबार, ०९:३४