काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । धनुषा र बैतडीमा भएको दुर्घटनामा एक/एक जनाको मृत्यु भएको हो । यस्तै, बैतडीमा भएको दुर्घटनामा अन्य ११ जना घाइते भएका हुन् ।

धनुषाको जनकपुर उपमहानगरपालिका–८ रामानन्दचोकमा आज बिहान बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६८ वर्षीया बेचनी देवी मण्डल रहेकी छिन् ।

पैदल हिडीरहेकी महिलालाई ना ४ ख ८०६१ नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

बस सहित चालकलाई प्रहरी चौकी जनकपुरधामले नियन्त्रणमा लिएको छ ।


यसैगरी, बैतडीको पाटन नगरपालिका–६ मा जन्ती बोकेको जीप आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक सहित ११ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जिपमा सवार बैतडीको पाटन नगरपालिका–६ का ५५ वर्षीय देवीलाल जोशी रहेका छन् ।

कञ्चनपुरको महेन्द्रनगरबाट बेहुली लिएर बैतडीतर्फ फर्किदै गरेको सुदुर पश्चिम प्रदेश ०१–००१ च ३७७ नम्बरको जीप हिरापुर मोडमा दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा मृत्यु भएको हो ।

घाइते मध्ये २ जनाको अवस्था भने गम्भीर रहेको छ । चालक सहित घाइते भएका सबैको सोही अस्पतालमा उपचार भएरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो ।


प्रकाशित मितिः २०७८ साल वैशाख १३ गते सोमबार, १६:५३