काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा १५ दिने शिशुसहित छ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मोरङको सुन्दर हरैचा नगरपालिका–६ दुलारीमा मंगलबार राति मोटरसाइकलको ठक्करबाट १५ दिनको शिशुको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१२ घर भई सुन्दर हरैचा नगरपालिका–४ डेरा गरी बस्ने २५ वर्षीया कल्पना यादवलाई पैदल हिडिरहेको अवस्थामा पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको को ३६ प ४४२४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा कल्पनासहित उनले बोकेको १५ दिनको शिशु घाइते भएका थिए । धरान घोपामा घाइते दुवै जनाको उपचार भइरहेकोमा शिशुको भने मृत्यु भएको छ ।


ठककर दिने मोटरसाइकल चालकलाई प्रहरी चौकी गछीया मोरङले नियन्त्रणमा लिएको छ ।

यस्तै, ललितपुरको ग्वार्कोचोकमा मंगलबार बेलुकी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । तनहुँ घर भएका ४२ वर्षीय भीम बहादुर विश्वकर्माको मृत्यु भएको हो ।

पैदल हिडिरहेका उनलाई बा २ क ८७५८ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बि एण्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक चालकलाई प्रहरी बृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ ।

यसैगरी, ललितपुरकै बालकुमारीमा मंगलबार बेलुकी सुमोको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । बाग्लुङ घर भई ललितपुरको महालक्ष्मीस्थान बस्ने ३० वर्षीय संजय क्षेत्रीको मृत्यु भएको हो ।

ग्वार्कोबाट कोटेश्वरतर्फ आउँदै गरेको ना १ ज ३६७७ नम्बरको सुमोले साइकलमा आएका क्षेत्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बि एण्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको हो ।

सुमो सहित चालकलाई प्रहरी बृत सातदोबाटोले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, पाल्पाको रैनदेवी छहरा गाउँपालिका–६ चहलासिमलमा मंगलबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्याक्टरका परिचालक सोहि स्थानका १९ वर्षीय रमन भट्टराई रहेका छन् ।

दमारबाट माझिटोलतर्फ पराल बोकेर जाँदै गरेको लु ३ त ७१५६ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

सोही दुर्घटनामा परी सोहि ठाउँकी १६ वर्षीया रक्षा के.सि., १५ वर्षीया सबिक्षा के.सि. र १४ वर्षीय बिकास रायमाझि घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि बुटवल पठाइएको छ ।

दुर्घटनामा संलग्न सवारी साधन सहित चालकलाई पाल्पा प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, कैलालीको गौरीगंगा नगरपालिका–३ झिलमा मंगलबार राति सवारी साधनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा गोदावरी नगरपालिका–४ का २२ वर्षीय अर्जुन चौधरी रहेका छन् ।

सुदुर पश्चिम प्रदेश–०१–००९ प ९७६ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा घाइते भएका उनको उपचारका क्रममा सेति प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो ।

मोटरसाइकलमा पछाडी चढेका घाइते एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

मोटरसाइकललाई ठक्कर दिएको आशंकामा ना ३ ख ३९४२ नम्बरको ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चौमाला कैलालीले जनाएको छ ।

यस्तै, मोरङको कानेपोखरी गाउँपालिका–६ नर्सरीडाँडामा मंगलबार साँझ ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय २८ वर्षीय हेम कुमार चेम्जोङ रहेका छन् ।

भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को २ त ८५६ नम्बरको ट्याक्टरले विपरित दिशाबाट जाँदै गरेको को २८ प ८९६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टर चालकलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १० बुधबार, १२:३८