काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा छ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ८ दाजेमा शुक्रबार बेलुकी जन्ती सवार जिप दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा स्थानीय ५१ वर्षीय कलीभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपाली रहेका छन् ।
घारीखोलाबाट दाजेतर्फ जन्ती लिएर आउँदै गरेको रा १ ज ५८९ नम्बरको जिप हिजो सडकबाट अन्दाजी १ सय मिटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
घाइते भएका सोही स्थानका लाल बहादुर नेपालीलाई उपचारका लागी नगर अस्पताल आठबिसकोट लगिएको छ ।
।
जिप चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय आठबिसकोटले जनाएको छ ।
यस्तै, महोत्तरीको शम्सी गाउँपालिका–५ मा शुक्रबार बेलुकी ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
ट्याक्टरमा सवार भारतिय नागरीक ५० वर्षीया महरियादेवी पण्डितको घटनास्थलमै मृत्यु भएको हो ।
मनराबाट शम्सीतर्फ जाँदै गरेको ना ४त ८५७८ नम्बरको ट्याक्टर आफैं अनियन्त्तित भई पल्टिँदा उनको मृत्यु भएको प्रहरी चौकी पोखरभिण्डाले जनाएको छ ।
घाइते भएका ट्याक्टरमा सवार ४ जनालाई उपचारका लागी जीवनज्योती अस्पताल सम्सी लगिएको छ ।
यसैगरी, उदयपुरको त्रियुगा नगरपालिका–१५ हुवासडहरमा शुक्रबार साँझ ट्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय १६ वर्षीय हिक्मत नेपाली रहेका छन् ।
पबित्रा कन्ट्रक्सनको स १ त ५७९७ नम्बरको ट्याक्टरले सडक पार गर्दै गरेका उनलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
ट्याक्टर चालक फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी साउनेले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर १३ शनिबार, १२:२४
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook