काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

नुवाकोटको तार्केश्वर गाउँपालिका–५ छागेखोलामा आइतबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तार्केश्वर गाउँपालिका–६ डाँडाखर्कका ५५ वर्षीय राम बहादुर तामाङ रहेका छन् ।

दानसिङबाट डाडाखर्कतर्फ जाँदै गरेको बा २७ प ८६५८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी २५ सय मिटर तल खस्दा तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

यस्तै, सप्तरीको खडक नगरपालिका–३ बनझुर्लामा आइतबार बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा पैदलयात्री अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् ।

पैदल हिडीरहेका उनलाइ नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा राम कुमार शारदा उमा प्रसाद मुरारका स्मारक अस्पताल लहानमा बेलुकी नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरोवनाले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

दुर्घटना पश्चात् फरार रहेका सवारी साधन सहित चालकको खोजी भइरहेको छ ।

यसैगरी, नवलपरासी बर्दघाट सुस्ता पश्चिम रामग्राम नगरपालिका–१२ पचगाँवमा आइतबार बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मोटरसाइकल चालक अन्दाजी २५ वर्षीय युवकको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

परासी भुमही सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना १ क ८८०९ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको ग ३ प ७९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक सहित चालकलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १५ सोमबार, ११:२७