काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

कैलालीको टिकापुर नगरपालिका–१ स्थित वन कार्यालय नजिकै मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी चढेका कैलालीकै बर्दगोरिया–६ का ४६ वर्षीय रमेश विष्ट रहेका छन् ।

से ४ प ६५६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा घाइते भएका उनको कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, पाँचथरको फिदीम नगरपालिका–४ जोरसालमा मंगलबार बेलुकी पिकअप जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने चालक सहित २ जना गम्भीर घाइते भएका छन् ।


फिदिमबाट जोरसालतर्फ जाँदै गरेको बा १९ च ५७३६ नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो ।

दुर्घटना गम्भीर घाइते भएका जिपमा आएका पाँचथरको फिदिम नगरपालिका–१ का २० वर्षीय अर्जुन शंकरको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

गम्भीर घाइते भएका चालक सुनसरीको धरान–१ का ३० वर्षीय पर्वत गुरुङ र झापाको गरामनी घर भएका २१ वर्षीय अर्जुन मगरको सोही अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यसैगरी, मोरङको रतुवामाई नगरपालिका–९ इटहरा चौकमा मंगलबार साँझ २ वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना सामान्य घाइते भएका छन् ।

मे ९ प १७२३ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा ३४ प २८१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा २८१० नम्बरका चालक अन्दाजी ३५ वर्षीय विजय गौतमको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा अरनिको अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजवाले जनाएको छ ।

घाइते भएका अर्का मोटरसाइकल चालक झापाको दमक नगरपालिका–८ का प्रदिप थापा र सोही मोटरसाइकलमा आएका दमक–४ का भुवन बास्कोटाको भने अरनिको अस्पतालमै उपचार भइरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १७ बुधबार, ११:०४