काठमाडौंः प्रहरीले छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–९ गौरिकटानबाट १ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित प्रहरीले सोही ठाउँ बस्ने २३ वर्षीय प्रेम ताम्राकारलाई मंगलबार दिउँसो पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्रेमलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट ८ ग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित प्रहरीले गोदावरी नगरपालिका–१२ बस्ने २९ वर्षीय धर्म बडौलालाई मंगलबार दिउँसो पक्राउ गरेको छ ।

से ७ प ६२३७ नम्बरको स्कुटरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा आएका बडौलालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका–६ मेचीपुलबाट करिब ९ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित प्रहरीले मोरङ पथरी शनिश्चरे नगरपालिका बस्ने २२ वर्षीय मिलन दर्जीलाई मंगलबार दिउँसो पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका दर्जीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, पर्साको वीरगञ्ज महानगरपालिका–२८ बगहीबाट प्रहरीले करिब ९० किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई मंगलबार बेलुकी पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका ३० वर्षीय रबिकान्त भारती र २८ वर्षीय सुनिल भारती रहेका छन् ।

यूपी ७० बीके ९९५५ नम्बरको कारलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा कारको डिकीमा लुकाई ल्याएको उक्त गाँजा सहित उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मितिः २०७९ साल असार २२ गते बुधबार, ०९:४८