काठमाडौंः प्रहरीले छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित छ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–९ स्थित सडकबाट नियन्त्रित लागूऔषध २० एम्पुल डाईजेपाम, २० एम्पुल बुप्रेनोर्फिन, २० एम्पुल फेनारगन र ६ सय ट्याब्लेट नाईट्राभेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर उदयपुरगढी गाउँपालिका–६ ठेगाना भएका ३० वर्षीय इन्द्र बहादुर अधिकारी र उदयपुर त्रियुगा नगरपालिका–५ ठेगाना भएका २९ वर्षीय अरुण बिश्वकर्मा रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको थियो ।


। साथै अनुसन्धानको क्रममा कागेश्वरी महानगरपालिका–७ स्थित उनीहरू डेरा गरी बस्ने कोठाबाट थप २ हजार ३ सय ८९ ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट र नगद ५ हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

यसैगरी काठमाडौंकै टोखा नगरपालिका–१० भण्डारीटोल चोकबाट नियन्त्रित लागूऔषध १ सय एम्पुल बुप्रेनोर्फिन, १ सय एम्पुल डाईजेपाम र १ सय एम्पुल फेनारगन सहित रामेछाप खाडादेवी गाउँपालिका–७ ठेगाना भएका २० वर्षीय दिनेश महतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, रुकुम (पश्चिम) को आठबिसकोट नगरपालिका–९ राडीबजारबाट १२ केजी अवैध लागूऔषध अफिम सहित २ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आठबिसकोट नगरपालिका–९ राडीबजार डेरा गरी बस्ने जाजरकोट नलगाड नगरपालिका–८ घर भएका ४६ वर्षीय माल बहादुर सिंह र सोही नगरपालिका–९ बस्ने ६० वर्षीय काली बहादुर सिंह रहेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेत, जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) र इलाका प्रहरी कार्यालय आठबिसकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरु बसेको कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस्तै, झापाको मेचीनगर नगरपालिका–६ चर्च एरियाबाट ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित दमक नगरपालिका–१० भावना टोल बस्ने २२ वर्षीय अरुण धिमाललाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

सिमा प्रहरी चौकी नकलबन्दा तथा सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा उनको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २१ शुक्रबार, १६:२८