काठमाडौंः छुट्टाछुट्टै स्थानबाट जबरजस्ती करणी गर्ने चार जना पक्राउ परेका छन् ।

काठमाडौंमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१७ धोबिचौर डेरा गरी बस्ने भारत घर भएका ४५ वर्षीय मुजबिल अन्सारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अन्सारीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१७ धौबिचौरस्थित साथीको कोठामा लुकीछीपी बसेको अवस्थामा फेला पारी अन्सारीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


यस्तै, मोरङमा १४ वर्षीया बलिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वेलबारी नगरपालिका–३ सिमपानी बस्ने २१ वर्षीय सुमन भन्ने सुकमान तामाङ र सोही ठाउँ बस्ने ५० वर्षीय चक्र बहादुर चौधरीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

कात्तिक १३ गते तामाङले चौधरीको सहयोगमा ती बालिकालाई सोही नगरपालिका–१ अमना सिसौलीको जंगलमा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुकै घरबाट पक्राउ गरेको हो ।

उनीहरुलाई जिल्ला अदालत मोरङबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैगरी, मोरङमै २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ग्रामथान गाउँपालिका–२ बस्ने ४० वर्षीय जुमेश सरदारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सरदारले ती महिलालाई सोही गाउँपालिका–१ लखन्तरीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले सोही गाउँपालिका–२ झोराहाटबाट उनलाई पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत मोरङबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १८ मंगलबार, १७:०४