काठमाडौंः प्रहरीले छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरेको छ ।

नवलपरासी (पूर्व)को कावासोती नगरपालिका–३ माने चोक बस्ने ४३ बर्षीय थाम बहादुर गुरुङको घरमा तास खेलिरहेको अवस्थामा गुरुङ लगायत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९२ हजार ७ सय ३५ रुपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

सर्लाहीको बरहथवा नगरपालिका–६ बस्ने ४८ वर्षीय शम्भु सिंहको घरमा तास खेलिरहेको अवस्थामा शम्भु सिंह लगायत ६ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।


इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६० हजार ९ सय ९५ रुपैयाँ, ५ हजार २ सय भारतीय रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ ईत्राम बस्ने निर्मला शाहीको घरमा तास खेलिरहेको अवस्थामा निर्मला लगायत ७ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद ५६ हजार ६ सय १० रुपैयाँ र ९ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १९ बुधबार, १५:४८