काठमाडौंः जलवायु परिवर्तन अहिले विश्वको प्रमुख समस्या हो । जलवायु परिवर्तनले पृथ्वीको तापमान दिन प्रतिदिन बढ्दै जाँदा यसले सम्पूर्ण विश्वको ध्यानाकर्षण गरेको छ । पृथ्वीमा सौर्य विकिरणमार्फत तापशक्ति प्राप्त हुन्छ र यही सौर्य विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलन रहन्छ । पृथ्वीले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्दछ त्यति नै विकिरण पुनः अन्तरीक्षमा फिर्ता पठाउँछ, जसले गर्दा पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर रहन्छ। तर बढ्दो वायु प्रदूषणले सौर्य विकिरण पृथ्वीको वायुमण्डलभित्रै कैद हुँदा पृथ्वीको तापमान वृद्धि गर्दै जलवायु परिवर्तन निम्त्याउँछ ।


मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइजस्ता हरित गृह ग्यास र ओजोन तह विनाश गर्ने क्लोरोफ्लोरो कार्बनजस्ता विषाक्त ग्यासको उत्सर्जन दिन प्रतिदिन वायुमण्डलमा बढ्दै जानु र पृथ्वीबाट परावर्तित भएका विकिरणहरू वायुमण्डलमै रोकिंदा पृथ्वीको तापक्रम वृद्धि हुँदै गएको वैज्ञानिकहरुको निष्कर्ष छ । वन विनाश तथा बढ्दो औद्योगिकीकरणका कारण जलवायु परिवर्तन भएको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ ।

अहिले जलवायु परिवर्तन बढ्दै जाँदा पृथ्वीमा पानी तथा खाद्य संकट देखिन थालेका छन् । त्यस्तै, जलवायु परिवर्तनकै कारण मानवीय क्रियाकलापदेखि अन्य जीवजन्तुमा समेत प्रभाव पर्दै गएको छ । यसका साथै अनावृष्टि, अतिवृष्टि, बाढीपहिरो, आँधी, अत्यधिक गर्मी र सुख्खा हुने कारण जैविक स्वास्थ्यमा समेत नराम्रो असर परिरहेको विज्ञहरुको भनाइ छ ।

जलवायु परिवर्तनमा कुनै एक देश वा क्षेत्र मात्र जिम्मेवार हुँदैनन्, यसमा सबैको भूमिका हुन्छ र सबैलाई असरसमेत पर्छ । जलवायु परिवर्तनमा नेपालको भूमिका अति न्यून भए पनि यसको असर भने नेपाललाई सबैभन्दा बढी पर्न थालेको देखिएको छ ।

जलवायु परिवर्तनले नेपालका हिमनदी, जलसम्पदा, कृषि, वन तथा जैविक विविधता क्षेत्रमा यसको  असर देखिन थालेको विज्ञहरुले बताएका छन् । जलवायु परिवर्तनले नेपालमा
पानीका मुहान सुक्न थालेका छन् भने कृषि उत्पादन घट्ने तथा नयाँ–नयाँ रोग उत्पन्न गर्ने जस्ता समस्या देखा पर्न थालेका छन् ।

हालै सल्यानमा उत्पादन हुने कृषिमा पनि जलवायु परिवर्तनको प्रत्यक्ष असर देखिएको यस क्षेत्रमा काम गर्दै आएको संस्था ओरेक नेपालले प्रत्यक्ष रुपमा अनुभव गर्न सकिने अवस्थामा रहेको जनाएको छ । ओरेकले नेपालमा समयमै जलवायु परिवर्तनमा न्यूनीकरणका उपाय खोज्न नसके जिल्लामा उत्पादन हुने विभिन्न खाले जडीबुटी तथा नगदेबालीसमेत उत्पादन गर्न नसकिने अवस्था आउन सक्ने जनाएको छ  ।

जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा समेत असर गर्दै आएको छ । पछिल्लो समय हैजा, ज्वरो, झाडापखालाजस्ता महामारी बढिरहेका छन् भने तराईमा देखिंदै आएका मलेरिया, डेंगुजस्ता रोग पहाडी भेगमा पनि देखिन थालेका छन् । यस्तै कालाज्वर, जापानी इन्सेफ्लाइटिस, डेंगु, चिकनगुनिया, वेस्ट नाइल भाइरस, हात्तीपाइले तथा स्क्रब टाइफस, जिका भाइरस, प्लेग, टाइफाइड, हैजा र आउँ रोगको जोखिम बढेको देखिएको छ।  नेपाल अनुसन्धान परिषद्का अनुसार नेपालमा जलवायु परिवर्तनबाट विशेषगरी संवेदनशील रोगहरु जस्तै– कीटजन्य र झाडापखला महामारीको रुपमा देखिन थालेका छन् । जलवायु परिवर्तनका कारण मानसिक तनावलाई पनि बढाएको देखिएको छ, भने उच्च भेगको तापमान बढ्दै गएकाले रोगको प्रकोप पनि बढेको पाइएको छ।  नेपाल अनुसन्धान परिषद्का अनुसार १ डिग्री सेल्सियस तापमान बढे ३ प्रतिशतले झाडापखालाका रोगी बढ्ने एउटा अध्ययनले देखाएको जनाएको छ।

विश्वव्यापी रूपमा बढिरहेको तापक्रम र जलवायु परिवर्तनको असर प्रत्यक्ष रूपमा हिमालमा पर्दा नेपाललगायत विश्वका कतिपय हिमक्षेत्र काला पहाडका रूपमा रूपान्तरित हुँदै गएका छन् । हिमालको देश भनेर विश्वभरि चिनारी बनाएको नेपालका हिमाल जलवायु परिवर्तनको असरले पछिल्लो समयमा विस्तारै काला पत्थरमा परिणत हुन थालेका छन्।  हिमाल पग्लने, नयाँ हिमताल बन्ने अनि ती हिमताल फुट्ने र प्राकृतिक विपत्ति निम्तिन सक्ने सम्भावना बढ्दै गएको छ। नेपालमा च्छोरोल्पा र इम्जा हिमतालको जोखिम न्यूनीकरण गर्न सरकारले लामो समय र करोडौं रुपैयाँसमेत खर्च गरिसकेको छ ।

अध्ययन अनुसार नेपालको तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियस प्रतिदशकले बढेको पाइन्छ । तराईभन्दा माथिल्लो (हिमाली) भेगमा बढी मात्रामा तापक्रम वृद्धि भएको पाइन्छ । अध्ययन अनुसार बढ्दो तापक्रमका कारण वर्षा १३ मिलिमिटर प्रतिवर्षले बढेको र वर्षाका दिन शून्य दशमलव ८ दिनले घटेको पाइन्छ । यसैको फलस्वरुप नदीनालाको गति पनि १ दशमmव ५ गुणाले बढेको पाइन्छ । जलवायु परिवर्तले विभिन्न क्षेत्रहरुमा विभिन्न किसिमका असर पुरयाएको छ ।

विश्वभरि प्रभाव पारी मानव जातिका लागि खतरा बनेको जलवायु परिवर्तनको समाधान गर्न आवश्यक देखिन्छ । यसका लागि सवारी साधनको कम प्रयोग गर्ने, वृक्षरोपण, प्रदूषण नियन्त्रण आदि गर्न सकिन्छ । त्यसैगरी राज्यहरुबीच हुने कार्नब व्यापार पनि एक महत्वपूर्ण नीति हुनसक्छ । भूमि व्यवस्थापन, उmर्जा व्यवस्थापन, जलाधार व्यवस्थापन, पूर्वसूचना प्रणाली, प्रकोप तयारी कार्यक्रम आदि जस्ता रणनीतिहरुलाई प्रयोगमा ल्याएर पनि जलवायु परिवर्तनको असरहबाट जुध्न सकिन्छ । यातिर नागरिक र सरकारका तर्फबाट सक्रियता देखाउनुपर्ने आवश्यकता छ ।