पाँचथरः जलविद्युत् आयोजनाले नियमअनुसार पानी नछाडेपछि पाँचथर फिदिमको हेवा खोला सुकेको छ । न्यूनतम १० प्रतिशत पानी खोलामा छाड्नुपर्ने कानुनी प्रावधान भए पनि आयोजनाले सबै पानी आफैं प्रयोग गरेपछि खोला सुकेको हो ।

गत मंसिरदेखि नै यो खोलामा पानी बग्न छोडेको छ । फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमाना छुट्याएर बगेको खोलामा पानी नहुँदा यहाँका बासिन्दालाई दाहसंस्कारमा पनि समस्या भएको छ ।

हेवा र फेमेखोलाको पानी विद्युत् उत्पादनमा लगाइएको छ । माउन्टेन हाइड्रो पावर कम्पनीको तल्लो हेवा जलविद्युत् आयोजनाले खोलै सुकाएर इन्टेकमा पानी लगाएको स्थानीयको आरोप छ ।


। उक्त आयोजनावाट २२ मेगावट विद्युत् उत्पादन हुन्छ । हेवा ‘ए’ जलविद्युत् आयोजनाले पनि नियमअनुसार खोलामा पानी छोडेको छैन । ‘प्रतिसेकेन्ड कति पानी बग्छ, त्यसको १० प्रतिशत छोड्नुपर्छ,’ सिवानी हाइड्रो पावर फावा खोलाको विद्युत् उत्पादनमा काम गरेका इन्जिनियर वीरेन्द्र श्रेष्ठले भने, ‘धेरै आयोजनाले पानी नछोडेको भन्ने सुनिरहेको छु ।’

पानी नहुँदा जलचर र खेतीकिसानी गर्नेलाई पनि असर परेको छ । फिदिम–४ का नरोत्तम थापाले खोला सुख्खा हुँदा बर्खे धानबालीदेखि तोरी, गहुँजस्ता हिउँदे बालीमा असर परेको बताए । ठाडो बहने भएकाले हेवा खोलाबाट कुलोमा पानी ल्याएर स्थानीयले सिँचाइ गर्दै आएका थिए । इन्टेकमा टालेर सुरुङमा लगाएपछि पानी चुहिने सम्भावना पनि नभएको तल्लो क्षेत्रका बासिन्दाले बताएका छन् । थापाटार र आसपासको क्षेत्र खेतीका लागि महत्त्वपूर्ण ठाउँ मानिन्छ । यो समाचार आजको कान्तिपुरमा छ ।


प्रकाशित मितिः बिहीबार, फागुन २२, ०७:५५