काठमाडौंः जापानमा सत्तारूढ दलका एक सांसद पक्राउ परेका छन् ।

एक जुवाखाल सञ्चालकबाट ३४ हजार डलर घूस लिएको शंकामा ४८ वर्षीय सांसद सुकासा आकिमोतो पक्राउ परेका हुन् ।

अक्टोबरसम्म प्रधानमन्त्री शिन्जो आबेको मन्त्रिपरिषद्का एक सदस्यको रुपमा आकिमोतोले क्यासिनो सञ्चालनसम्बन्धी सरकारी योजनाको जिम्मा सम्हालेका थिए ।

ती सांसदले आफूले कुनै गल्ती नगरेको र कसैलाई फाइदा पुर्‍याउनेगरी काम नगरेको बताए ।

संवाददाताहरुका अनुसार उनी पक्राउ परेपछि प्रधानमन्त्री आवेको विवादास्पद क्यासिनो नीतिमा झन् जटिलता थपिदिएको बीबीसीले लेखेको छ ।

आकिमोतोले क्यासिनो खोल्न खोजिरहेको एक नाम नखुलाइएका सञ्चालकका तीन कर्मचारीबाट पैसा लिएको आरोप अभियोजनकर्ताहरूले लगाएका छन् ।


। ती तीन कर्मचारीलाई पनि बुधवार पक्राउ गरिएको छ ।

आकिमोतो पक्राउ परेको केही घण्टामै उनी सम्बद्ध रहेको लिबरल डेमोक्र्याटिक दलका अर्का सांसद ताकाकी सिरासुकाको कार्यालयमा पनि सोही विवादका सन्दर्भमा अधिकारीहरूले खानतलासी गरेको जापानी सञ्चारमाध्यमले जनाएका छन्। – बीबीसी


प्रकाशित मितिः बिहीबार, पुस १०, १२:१८