काठमाडौंः बैदेशिक रोजगारमा पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

जापान पठाईदिन्छु भनी ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा गोरखा भिमसेन गाउँपालिका–६ घर भई काठमाडौं सामाखुसी बस्ने ४९ बर्षीय केदारनाथ ढकाललाई प्रहरीले पक्राउ गरेको हो।

ढकालले गोरखा पालुङटार नगरपालिका–२ घर भएका कृष्ण प्रसाद पोखरेललाई जापानमा आकर्षक तलव सुविधा भएको कम्पनीमा काम लगाउने भनी विश्वास दिलाई उक्त नगद लिई भिषा प्रोसेस लगायतका कागजातहरु मिलेन भनी आलटाल गर्दै सिटिजन बैंक इन्टरनेशनल लिमिटेड सामाखुसी शाखाबाट रकम भुक्तानी लिनु भनी खातामा रकम नभएको ४ लाख ५० हजार रुपैयाँको चेक दिएका थिए ।


पीडितको जाहेरी अनुसार महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले ढकाललाई आइतबार टेकुबाट पक्राउ गरेको हो ।

ढकाललाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको बताइएको छ।