कैलालीः डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको गजरौलामा मंगलबार भएको एक जिप दुर्घटनामा वडाध्यक्षसहित ४ जनाको मृत्यु भएको छ ।

डोटीको दीपायलबाट बाँकेको कोहलपुरतर्फ गइरहेको शैलेश्वरी यातायातको से १ ज ३३० नम्बरको जिप दुर्घटनामा परी डोटीको आदर्श गाउँपालिका वडा नम्बर–२ का वडाध्यक्ष सहित ४ जनाको मृत्यु भएको हो ।

अन्य मृत्यु हुनेमा आदर्श गाउँपालिकाका ३५ वर्षीय लालबहादुर बोहरा, सोही ठाउँकी १४ वर्षीया जानकी बोहरा र दीपायल–सिलगढी नगरपालिका वडा नम्बर–४ का विनोद रावल रहेका छन् ।

११ जना यात्री सवार जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा ल्याउनेक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा अरु ७ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनालाई डोटी र पाँचजनालाई डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको छ ।

जिप सडकबाट दुईसय ४० फिट तल खोलामा खसेको हो ।