काठमाडौं: सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई कानून बनाउने मुख्य जिम्मेवारीप्रति पर्याप्त समय दिई घोत्लिएर काम गर्न निर्देशन दिएका छन् ।

संघीय संसद्का सांसदलाई कानून तर्जुमालगायत समग्र संसदीय प्रक्रियाकाबारे जानकारी दिन आयोजित गरिएको अभिमुखीकरण कार्यक्रम शुभारम्भ गर्दै महराले सांसदको मुख्य काम कानून र नीति बनाउनु भएकाले त्यसप्रति सजग र सिर्जनशील हुन सुझाव दिएका हुन् ।

सभामुख महराले भने, “संसद्मा सांसदहरुको उपस्थिति बढाउन आवश्यक छ, जनताले हामिलाई बढी भन्दा वढी सक्रिय र सिर्जनशील भएको देख्न चाहन्छन्, त्यसका लागि तपाईहरुबाट सकारात्मक सहयोगको अपेक्षा गरिएको छ ।


। ”

सोही अवसरमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले कानूनको मस्यौदा समयमा तयार नपारेर संसद् र सांसदले खप्की खानुपर्ने अवस्था आउन नदिन सरकारसँग आग्रह गरेका छन् ।

सदन नचलेको समयमा ‘कता जाऔं, कसरी दिन बिताआौ भन्ने दोधारमा परेका सांसदलाई कुर्सी, ज्ञान र चाहिएका पुस्तक पढ्न पाउने सुबिधा भएकाले सिहदरबारस्थित संसद् सचिवालयको पुस्तकालको सदुपयोग गर्न अध्यक्ष तिमिल्सिनाले सुझाव दिएका छन् ।

कानून, न्याय तथा संघीय मामिलामन्त्री शेरबहादुर तामाङले निर्वाचनका समयमा जनताले सार्वभौमसत्ताको प्रयोग गर्न दिएको अभिमतलाई शिरमा राखेर जनताको हितसँग जोडिएका कानून निर्माणमा ध्यान दिन सांसदसँग आग्रह गरेका छन्।

उनले संविधानसँग बाँझिने र जनतालाई अहित हुने तथा न्यायाधीशले बदमासी गर्नसक्ने गरी कानुनका छिद्र नरहनेगरी कानून निर्माण गर्न तपाईहरुले ध्यान पुर्याउन आवश्यक रहेको बताए ।

अभिमुखीकरणमा संविधान निर्माण, संघीय संसद् र संसदीय अभ्यास, संघीय संसद सचिवालयको आधारभूत जानकारी, कानून तर्जूमा, बजेट निर्माण र वित्तीय अनुगमनमा संसद्को भूमिका, संसद् र नागरिकबीचको सम्बन्ध, संघीय संसदीय प्रक्रिया र सचिवालयको भूमिका, कानून निर्माण र सरकारका काम कारबाहीको अनुगमनमा संसदीय समितिको भूमिकाका सम्बन्धमा विज्ञहरूबाट प्रस्तुति हुने संसद् सचिवालयले जनाएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा सदनले छोटो समयभित्रै धेरै कानून निर्माण तथा पुराना कानूनलाई समयानुकूल तुल्याउनुपर्ने भएको हुँदा कानून निर्माणको जिम्मेवारीलाई पूरा गर्न सजिलो होस् भन्ने हेतुले सचिवालयले सांसदका लागि अभिमुखीकरण आयोजना गरेको हो ।

संसदीय प्रक्रिया र काम कारबाहीका बारेमा जानकारी गराउने उद्देश्यले २ दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आयोजना भएको उक्त कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका २०० भन्दा बढी सांसदको सहभागिता छ ।