काठमाडौंः नेपाली कांग्रेसको हेटौंडामा जारी जिल्ला सभापतिहरुको भेलमा ८ जना युवा केन्द्रीय सदस्यहरुले ५४ पृष्ठ लामो पत्र जारी गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु तथा सांसद्हरु चण्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले पत्र जारी गरि बितरण गरेका हुन् ।

जिल्ला सभापतिहरुलाई महाधिवेशनको प्रक्रिया अघि बढाउन दबाव दिने ढंगले प्रस्तुत हुन आग्रह गर्दै लेखिएको यो पत्रमा पार्टी भित्रका कमिकमजोरी देखि आगामी दिनमा अपनाउनुपर्ने विधि र प्रकृयाबारे उल्लेख गरिएको छ ।

सभापति भेलाका सहभागीहरुलाई दिइएको उनीहरुको पत्रमा अहिलेको कांग्रेस नेतृत्वबाट सशक्त प्रतिपक्षको भूमिका पनि निर्वाह हुन नसक्ने भन्दै नेतृत्व परिवर्तनको आवश्यकता औंल्याइएको छ ।


यो पत्रमा काँग्रेसलाई पुरानो ढर्रामा नभइ नयाँ ढंगले सिर्जनशील र परिणाममुखी बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिइएको छ । सामाजिक विभेद विरुद्ध होस वा छुवाछुत विरुद्ध वा महिला हिंसा विरुद्ध कांग्रेसले फेरि एकपटक समाज रुपान्तरणको नेतृत्व गर्नुपर्नेछ भनिएको छ । त्यसैगरी कांग्रेसलाई नयाँ पुस्ताको आकर्षणको केन्द्र बनाउनुपर्नेमा पनि जोड दिइएको छ ।

प्रदेश र स्थानीय तहका अधिवेशन गर्न केन्द्रीय महाधिवेशन कुर्न नहुने भनिएको छ । महाधिवेशन कुरेर संघीय संरचनामा अधिवेशन नगरिए अर्को चुनाव पनि जित्न नसकिने ठहर गर्दै हाम्रो विधान अनुसार नियमित रुपमा पनि अर्को साल फागुनमा पार्टीको १४ औं महाधिवेशन गर्नुपर्ने मा जोड दिएको पत्रमा उल्लेख छ ।