सुनसरीः सुनसरीको कोशी गाउँपालिका–४ मा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । यस्तै एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडी सवार झापाको पृथ्वीनगर–४ का २९ वर्षीय दिपेश मुखिया रहेको प्रहरीले जनाएको छ ।

जिल्ला समन्वय समिति उदयपुरको स १ झ २६८ नम्बरको गाडी र को ३० प ५३०१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा गम्भीर घाइते भएका मुखियाको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो ।

सोही दुर्घटनामा मोटरसाइकल चालक झापाको दमक नगरपालिका १० का ३० वर्षिय योगेश कुमार धिमाल भने गम्भीर घाइते भएका छन् । उनको विराट नर्सिङहोम विराटनगरमा उपचार भइरहेको छ ।


दुर्घटनामा संलग्न गाडी सहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः मंगलबार, कार्तिक २६, १२:१७