काठमाडौंः जिल्ला समन्वय समिति काठमाडौं र टोखा नगरपालिकाबीच टोखा नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि आज सम्झौता भएको छ ।

नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि कुल स्वीकृत ठेक्का सम्झौता रकमको ६० प्रतिशतले हुन आउने रकम सात करोड ५९ लाख १९ हजार ३७७ रुपैयाँ जिससको मौज्दात कोषबाट उपलब्ध गराउने गरी सम्झौता भएको हो ।

सम्झौता पत्रमा काठमाडौंका जिल्ला समन्वय अधिकारी पीताम्बर अधिकारी र टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलबीच सम्झौता भएको हो ।

उक्त सम्झौतामा रोहबरको रुपमा जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजबैद्य र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी रहेका छन् ।


भवन निर्माणका लागि १२ करोड ५६ लाख ३२ हजार दुई सय २९ रुपैयाँ लागत लाग्नेछ । बाँकी रकम नगरपालिका आफैंले व्यर्होनेछ ।

जिल्ला समन्वय समितिको मौज्दात कोष सञ्चालन निर्देशिका २०७५ को बुँदा नं. ९ बमोजिम टोखा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौं बीच सम्झौता गरिएको हो ।

भवन निर्माण सम्बन्धी आयोजना कार्यान्वयन गर्ने सम्पूर्ण जिम्मेवारी नगरपालिकाको हुने र यस आयोजनाका लागि प्राप्त भएको रकम तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च भएको रकमको लेखा राख्ने तथा लेखा परिक्षण गर्ने सम्बन्धि व्यवस्था प्रचलित कानुन बमोजिम टोखा नगरपालिकाले राख्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

नगरपालिकाको प्रशासनीक भवन निर्माण कार्यको ठेक्का सम्झौता समय अवधि दुई वर्षको हुनेछ । भवन निर्माण सम्बन्धि आयोजना निर्धारित समय तोकिएको गुणस्तरमा कार्यान्वयन गर्न चाहिने आवश्यक प्राविधि सहायता नगरपालिकाले उपलब्ध गराउने व्यवस्था मिलाउने छ । भवन निर्माण सम्बन्धि आयोजना स्वीकृत टेण्डर बमोजिम तोकिएको गुणस्तर र निर्धारित समयभित्रै सम्पन्न गर्नुपर्नेछ ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सम्झौतामा उल्लेखित समयसीमा भित्रै नगरपालिकाको प्रशासनीक भवन निर्माण गरिने जानकारी दिए ।


प्रकाशित मितिः शुक्रबार, असोज ९, २०७७, १९:५६