बाग्लुङ्गः बाग्लुङ्गको ताराखोला गाउँपालिकाको वडा नम्बर ३ स्थित अर्खलामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

घुस्मेलीदेखि अर्गल भातखाने डाँडा जाँदै गरेको ग१ ज ६० ३४ नम्बरको जीप दुर्घटना हुँदा ताराखोला गाउँपालिका ३ का वडा सदस्य २४ वर्षीय हेमन्त घिमिरे र सोही ठाउँका ५४ वर्षीय हरिराम गिरीको मृत्यु भएको हो।

दुर्घटनामा परी अन्य दुईजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा ताराखोला गाउँपालिका ३ का २७ वर्षीय जीप चालक डम्बरबहादुर घिमिरे र सोही स्थानका ४२ वर्षीय कर्ण भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विश्वराजसिंह थापाले जानकारी दिए।


घाईते घिमिरे र भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारको लागि काठमाडौंको ग्राण्डी अस्पताल लगिएको पनि प्रहरीले जनाएको छ ।