काठमाडौंः प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २५ जनालाई पक्राउ गरेको छ ।

बागलुङको बागलुङ नगरपालिका–३ गुठीस्थित अमिना होटलमा तास खेलिरहेका अवस्थामा सोही ठाउँ बस्ने बस्ने ५० वर्षीय हिरा थापा लगायत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९० हजार ४ सय ७५ रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, तनहुँको बन्दीपुर गाउँपालिका–१ छापस्थित खाली घरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय लक्ष्मण कपाली लगायत १४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।


इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५५ हजार ५ सय ५० रुपैयाँ र कौडा सहित पक्राउ गरेको हो ।

यसैगरी, कपिलवस्तुको बाणगंगा नगरपालिका–४ बस्ने रबिन्द्र प्रताप सेनको घरमा जुवातास खेलिरहेको अवस्थामा सेन लगायत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ११ हजार ६ सय १३ रुपैयाँ र २ गड्डी तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ३ बुधबार, १६:५८