काठमाडौं: प्रहरीले जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ५५ जनालाई पक्राउ गरेको छ ।

मोरङको केराबारी गाउँपालिका–६ बस्ने भुपेन्द्र भट्टराईको घरमा तास खेलिरहेको अवस्थामा ५ जनालाई ८ लाख ८९ हजार २ सय ५० रुपैयाँ र १३ बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा केराबारी गाउँपालिका–६ बस्ने ६० वर्षीय भुपेन्द्र भट्टराई, ४३ वर्षीय बोधराज मगर, सुनसरी धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय अरुण केसी, ३८ वर्षीय शैलेस भुजेल र सोही उपमहानगरपालिका–६ बस्ने ३६ वर्षीय हरि खत्री रहेका छन् ।

भुपेन्द्रको घरमा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


काठमाडौंको काठमाडौं महानगरपालिका–१५ बिजेश्वरीमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ चमति बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–७ घर भएका २२ वर्षीय विक्रम लामा समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५३ हजार ५ सय रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।

यूतै, ललितपुरको महालक्ष्मी नगरपालिका–७ चागाथलीस्थित शंखर बस्नेतको घरमा कौडा खेलिरहेको अवस्थामा भक्तपुर सूर्यविनायक नगरपालिका–२ बस्ने ४९ वर्षीय सुरेश पौडेल लगायत १८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा कौडा खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ११ लाख ५४ हजार ५ सय ७५ रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।

यसैगरी, दार्चुलाको नौगाड गाउँपालिका–३ खार बस्ने मान बहादुर ठगुन्नाको पसलमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–३ बस्ने ३० वर्षीय रमेश सिह ठगुन्ना लगायत १४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दल्लेखबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८८ हजार ४ सय ६५ रुपैयाँ र २ गड्डी तास सहित पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ आँपधाप बस्ने नोर्बु घलानको घरमा कौडा खेलिरहेको अवस्थामा धादिङ बेनिघाट नगरपालिका–१ बस्ने ३५ वर्षीय रमेश पाण्डे लगायत ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरुलाई कौडा र नगद १ लाख ३० हजार ८ सय ४० रुपैयाँ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १६ आइतबार, १८:२८