काठमाडौंः प्रहरीले जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ ।

मोरङको उर्लाबारी नगरपालिका–९ बस्ने साबित्री श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय बाबुराम कार्की लगायत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख २५ हजार १ सय ५५ रुपैयाँ सहित पक्राउ गरेको हो ।

यस्तै, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ पारिजात पथ बस्ने दिल बहादुर मोक्तानको घरमा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय सुवास बर्तौला लगायत १४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले नगद ३ लाख ३२ हजार ८ सय ९२ रुपैयाँ, १२ बुक तास र ३१ वटा कौडा सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १२ शुक्रबार, १६:१८