भक्तपुरः सूर्यबिनायक नगरपालिका–५ घलाते चोकमा तीव्र गतिमा हुँइकिएको मोटरसाइकलको ठक्करले जेब्राक्रसबाट सडक पार गरिरहेका एक बालकको मृत्यु भएको समाचार आजको कान्तिपुरले पाँचौ पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, प्रहरीका अनुसारगत साउन ११ मा काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ९५ प ९४३५ नम्बरको मोटरसाइकलको ठक्करले सिन्धुपाल्चोक चौतारा नगरपालिका गैरीगाउँका ९ वर्षीय दीप श्रेष्ठको मृत्यु भएको हो । बालकको घटनास्थलमै मृत्यु भएको थियो ।

ट्राफिक नियमको उल्लंघन गरी जेब्राक्रसमै सवारी दुर्घटना गराउने काठमाडौं महानगरपालिका–५ हाँडीगाउँका १९ वर्षीय दिपेन श्रेष्ठलाई जिल्ला अदालत भक्तपुरले पुर्पक्षका लागि थुनामा पठाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले बताए ।


त्यसैगरी, साउन १९ मा सूर्यबिनायक गुण्डुबाट भक्तपुरतर्फ जेब्राक्रस भएर सडक पार गर्ने क्रममा रत्नमाया शिल्पकारलाई मोटरसाइकलले ठक्कर दियो । दुई दिनपछि उपचारकै क्रममा शिल्पकारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

फाइल तस्विर

 


प्रकाशित मितिः सोमबार, भदौ २३, ०६:५०