भक्तपुरः बागमति प्रदेश सञ्चार रजिष्टारको कार्यालयका रजिष्टार रेवतीप्रसाद सापकोेटाले जेष्ठ पत्रकारहरुको लागि आफूले पेन्सनको व्यवस्थापन गर्ने प्रयास थालेका जानकारी गराएका छन् ।

स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरको दोश्रो साधारणसभा तथा पहिलो अधिवेशनको सोमबार भक्तपुरमा उद्घाटन गर्दै आफनो कार्यकालमा सकेसम्म यो सफलतामा पुर्‍याएर छोडने बताए ।

जेष्ठ पत्रकारका साथै दुर्घटनामा परी मृत्यु भएका, दीर्घरोगी, सुत्केरी पत्रकारलाई पनि सहयोग गर्ने सरकारी व्यवस्थामा आफू लागिपरेको उनले सुनाए । उनले बागमति प्रदेश सञ्चार रजिष्टारको कार्यालयले कोडिभको बेला पनि धेरै पत्रकारहरुलाई सहयोग गर्न जानकारी गराए ।


स्वतन्त्र पत्रकार संघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष केवी सम्राटले पत्रकारिता स्वतन्त्र हुनुपर्नेमा जोड दिए । एउटा हातमा पार्टीको झण्डा र अर्काे हातमा स्वतन्त्र पत्रकारको झण्डा बोकेर कसरी पत्रकार स्वतन्त्र हुन्छ भनी उनले प्रश्न गरे ।

स्वतन्त्र पत्रकार संघ भक्तपुरका अध्यक्ष डा. इन्दुल केसीले समाजलाई अगाडि बढाउन स्वतन्त्र पत्रकारिताको भूमिकाबारे चर्चा गरे । दुई वर्ष अघि डा. केसीको अध्यक्षतामा संघ गठन भएको थियो ।


प्रकाशित मितिः २०७७ साल चैत २४ गते मंगलबार, ०८:५५