काठमाडौंः भद्रपुर नगरपालिका–४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ ९ ग्राम १ सय १० मिलिग्राम सहित ३ जनालाई प्रहरीले बिहीबार बेलुकी पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २४ वर्षीय गोविन्द राजवंशी, अर्जुनधारा नगरपालिका–६ बस्ने ४० वर्षीय लोकेन श्रेष्ठ र भद्रपुर नगरपालिका–१० बस्ने ३६ वर्षीय विनोद राजवंशी रहेका छन् ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले लोकेन र विनोदको साथबाट लागूऔषध नाप तौल गर्न प्रयोग हुने डिजिटल तराजु बरामद भएपश्चात थप अनुसन्धान गर्ने क्रममा गोविन्दको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।


यसैगरी, रौतहटको गौर नगरपालिका–४ टिकुलिया टोलस्थित गहुँबारीमा वेवारिसे अवस्थामा रहेको अवैध लागूऔषध गाँजा करिब १२ किलो बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

वेवारिसे अवस्थामा गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल चैत २० गते शुक्रबार, १६:०६