झापाः दमक नगरपालिका–३ बेलडागी बस्ने मनु गुरुङको घरमा तास खेलिरहेका ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३८ वर्षीय प्रकाश राई, ३६ वर्षीय नरेश दाहाल, ३६ वर्षीय कुमार तामाङ, बिर्ख मान राई र २४ वर्षीय शन्तबीर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले १ लाख ५७ हजार रुपैयाँ र १ बुङ तास सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी, दाङको घोराही उपमहानगरपालिका–१५ पाठकचोक बस्ने याम बहादुर थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३१ वर्षीय राजेन्द्र केसी लगायत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


उक्त घरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले ३ गड्डी तास र ३० हजार ३ सय ९५ रुपैयाँ नगदसहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः आइतबार, भदौ २८, २०७७, १५:१६