झापाः कनकाई नगरपालिका–३ स्थित सुरुङा खोलाको डिलमा रहेको बाँसघारीमा मृत अवस्थामा फेला परेका २२ वर्षीय अभिषेक चौधरीको हत्या भएको पुष्टि भएको छ । कनकाई–३ स्थितमै बसो बास गर्ने चौधरी बुधबार बिहान ६ बजे बाँसघारीमा मृत अवस्थामा फेला परेका थिए ।

घटनाको जानकारी पाउनसाथ घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मृतक चौधरीको शव संकास्पद देखिएपछी गहन अनुसन्धान सुरु गरेको थियो । घटनाको अनुसन्धान गर्न संघीय प्रहरी ईकाइ कार्यालय धरानबाट डग सहितको टोली खटेको थियो ।

अनुसन्धानमा खटिएको प्रहरी टोलीले चौधरीको हत्या भएको पुष्टि गरेसँगै उनको हत्यामा संलग्न कनकाई ७ का २२ वर्षीय टल्के भन्ने रविन राजबंशीलाई ८ घण्टा भित्रै पक्राउ गरी आज इलाका प्रहरी कार्यालय अनारमनिबाट सार्वजनिक गरिएको हो ।


मृतक चौधरी र राजबंशी दुबै जना लुकिछिपी लागुऔषध सेवन गर्ने साथै लागुऔषध सेवनकै विषयमा उनीहरुबीच बादविबाद भएपछी मंगलबार राती चौधरी खोलाको डिलमा निस्किएको मौका छोपेर राजबंशीले पछाडीबाट बन्चरोले शरिरका विभिन्न भागमा प्रहार गरेर हत्या गरी शवलाई बाँसघारीमा राखेर उनी फरार रहेको अनुसन्धानका क्रममा खुल्न आएको छ ।

फरार पश्चात पक्राउ परेका राजबंशीले आफुले चौधरीको हत्या गरेको साबिति बयान समेत दिएका छन ।

साथै प्रहरीले घटनामा प्रयोग गरेको बन्चरो र राजबंशीको कपडा समेत बरामद गरेको छ । राजबंशी उपर इलाका प्रहरी कार्यालय अनारमनिबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २९ बिहीबार, १४:१६