काठमाडौंः झापा र कास्कीबाट विभिन्न मुद्दाका फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको बहुबिवाह मुद्दामा फरार प्रतिवादी बिर्तामोड नगरपालिका–२ बस्ने ३२ वर्षीय राज कुमार कोचलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत भद्रपुर झापाको २०७४ असार ४ गतेको फैसलाले १ वर्ष कैद तथा ५ हजार रुपैयाँ जरिवाना सजाय ठहर भई जरिवाना धरौटीबाट सदर भएको र २४ दिन कैद असुल भई बाँकी ११ महिना ६ दिन बेरुजु रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनकै घर वतनबाट पक्राउ गरेको हो ।

कोचलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भद्रपुर झापामा बुधबार उपस्थित गराएकोमा बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाउने आदेश भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


यस्तै, कास्कीको ज्यान मार्ने उद्योगका फरार प्रतिवादी माछापुछ्रे गाउँपालिका–९ सिदिङ बस्ने ४८ वर्षीय खिम बहादुर क्षेत्रीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत कास्कीको २०६४ साउन ३० गतेको फैसलाले ज्यान मार्ने उद्योग अपराधमा ७ वर्ष कैद ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।

क्षेत्री माथि आवश्यक कारवाही प्रकृया अगाडि बढाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १८ गते बिहीबार, १९:२१