काठमाडौंः प्रहरीले झापा र ललितपुरबाट अवैध लागूऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ ।

झापाको भद्रपुर नगरपालिका–३ झोलुङ्गे पुलबाट नियन्त्रित लागूऔषध १० थान स्कुफ सिरप, १ सय ४ पिस नाईट्रोजन, ७२ पिस उईनपास मोफोट, ८ एम्पुल लुपिजेसिक, ८ एम्पुल फेनारगन, ८ एम्पुल डाईजेपाम र २ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–२ बस्ने ३६ वर्षीय दिपक राई र ३५ वर्षीय शेर बहादुर बस्नेत रहेका छन् ।

प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे २ प ४३१८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा आएका उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।


यस्तै, झापाकै विर्तामोड नगरपालिका–१ शान्ति टोलबाट २६ ग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाईलो पदार्थ सहित सोही नगरपालिका–५ बस्ने २१ वर्षीय संजय तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मे ८ प ३४२८ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण व्यूरो काकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक तामाङले आफ्नो शरीरको बिभिन्न भागमा लुकाई ल्याएको उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, ललितपुरको ललितपुर महानगरपालिका–१३ कुसुन्तीबाट नगद ३० हजार रुपैयाँ, नियन्त्रित लागूऔषध ९ एम्पुल डाईजेपाम, ९ एम्पुल फेनारगन, ९ एम्पुल नोफिन, २ वटा प्रयोग गरेको सिरिन्ज र अवैध लागूऔषध ५० ग्राम गाँजा सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही महानगरपालिका–२ सानेपा बस्ने रामेछाप घर भएका २२ वर्षीय अजित बस्नेत र सानेपा बस्ने मकवानपुर घर भएका १७ वर्षीय किशोर रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस ९ गते बिहीबार, १९:०५