काठमाडौंः टाइम्स इन्टरनेसनल र आयोजक रोयल सेन्ट्रल स्पोर्ट्स प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेका छन् ।

सोमबार भएको सेमिफाइन खेलमा टाइम्सले कास्कीलाइ तथा रोयलले गोल्डेनगेटलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।

ललितपुरको सानागाउँमा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा टाइम्सले कास्कीलाई ७३–३५ ले पराजित गरेको हो । टाइम्सको जितमा आकाश नकर्मीले २४ अंक योगदान गरे । आकाशनै ‘म्यान अफ द म्याच’ घोषित भए । टाइम्सले चारै क्वाटरको नतिजा आफ्नो पक्षमा पार्‍यो । टाइम्सले पहिलोमा २१–७, दोश्रोमा १७–१०, तेश्रोमा २४–१४ र चौथोमा ११–४ अंक जोड्यो ।


दोश्रो सेमिफाइनलमा निश्चल महर्जनको २२ अंक सहयोगमा रोयलले गोल्डेनगेटलाई ७२–५१ ले पराजित गरेको हो । पहिलो क्वाटरमा २०–८ को अग्रता लिएको रोयलले दोश्रो र तेश्रोमा पनि अग्रतालाई जोगाइ राख्यो । दोश्रोमा १४–११ र तेश्रोमा २२–१४ को अग्रता लिएको रोयल चौथोमा १६–१८ ले पछि पर्‍यो । रोयलका अजय कुश्वा ‘म्यान अफ द म्याच’ चुनिए ।

फाइनल खेल आज मंगलबार हुनेछ । विजेताले ५० हजार नगद पुरस्कार पाउने छ । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरस्कृत गरिने छ ।


प्रकाशित मितिः मंगलबार, फागुन २०, ०६:३३