मुस्ताङः उपल्लो मुस्ताङको स्याङ्बोचेमा टिपर दुर्घटनामा परि मृत्यु हुनेको संख्या १८ पुगेको छ भने १४ घाइते रहेका छन् ।

मृत्यु हुनेमा १२ पुरुष र ६ महिला रहेको जनाइएपनि सनाखत हुन सकेको छैन । घाइतेमध्ये ९ को अवस्था चिन्ताजनक र ५ जना सामान्य अवस्थामा रहेको उद्दारमा खटिएको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा प्रहरी र नेपाली सेनाको हेलिकप्टर पुगिसकेको छ । घाइतेहरुलाई पोखरा र काठमाडौंमा अस्पतामा लैजान लागिएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् ।

घिलिङ नजिक बिहानको खाना खाएर कार्यस्थल फर्कंदै गरेका मजदुर बोकेको बा २ क २२१९ नम्बरको टिपर बेनी-जोमसोमको कोरला सडक खण्डअन्तर्गत दामोदर कुण्ड-३ स्थित स्याङ्बोचेमा सडकबाट ६० मिटर तल खसेको थियो।


टिपर अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।