काठमाडौंः संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिएको बताएका छन् ।

कोरोनाभाइरस संक्रमण फैलिरहेको घटनालाई लिएर कदम चाल्ने सन्दर्भमा’न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको’उनको आरोप छ ।

चीनमा कोरोनाभाइरस देखिएपछि संक्रमणसम्बन्धी विषयलाई सही ढङ्गले व्यवस्था गर्न नसकेको र घटनालाई ढाकछोप गरेको पनि राष्ट्रपति ट्रम्पले आरोप लगाए ।

डब्ल्यूएचओलाई जवाफदेही बनाउनैपर्ने उनको भनाइ छ । यसअघि ट्रम्पले डब्ल्यूएचओले चीनप्रति आग्रह राखेको आरोप लगाएका थिए ।


उनले डब्ल्यूएचओ चीन केन्द्रित भइरहेको आरोप प्रायः लगाउने गरेका छन् ।

अमेरिकामा कोरोनाभाइरस महामारीसँग जुझ्न लिएका नीतिलाई लिएर ट्रम्प आफैंले आलोचना खेपिइरहेका छन् ।

तर मंगलवार उनले कोरोनाभाइरस महामारीलाई लिएर आफ्नो प्रशासनले चालेका कदमहरुको आक्रोशपूर्ण ढङ्गले बचाउ गरेका थिए ।-बीबीसी

 


प्रकाशित मितिः बिहीबार, वैशाख ४, १२:०३