काठमाडौंः काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ७ सय ६ सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट बुधबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने १ सय ३ जना, लेन उल्लंघन गर्ने १ सय ९६ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने ५८ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ३० जना, सिसिटिभीमार्फत कारबाही ९१ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने १ सय २१ जना, अनावश्यक हर्न बजाउने ४४ जना, ब्हील लकबाट ४७ जना र अन्य १ हजार १६ जना गरी जम्मा १ हजार ७ सय ६ सवारी चालक रहेका छन् ।


यसैगरी काठमाडौं उपत्यकामा बुधबार ४० वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा १४ जना सामान्य घाइते भएका छन् ।

महाशाखाका अनुसार बुधबार १७ हजार ६ सय ७१ सवारी साधनबाट १ लाख ३ हजार ५८ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् भने १५ हजार ६ सय ३४ सवारी साधनबाट ९२ हजार ७ सय २७ जना यात्रु बाहिरिएका छन् ।


प्रकाशित मितिः बिहीबार, मंसिर २६, ०६:४७