काठमाडौंः काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ८ सय ५५ सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट आइतबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने ८६ जना, लेन उल्लंघन गर्ने १ सय ९४ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने ३९ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ४२ जना, टिपर कारबाहीमा २ सय ७ जना, सिसिटिभीमार्फत कारबाही ३३ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने २ सय २२ जना, अनावश्यक हर्न बजाउने ४७ जना, ब्हील लकबाट १ सय २७ जना र अन्य ८ हजार ५८ जना गरी जम्मा १ हजार ८ सय ५५ सवारी चालक रहेका छन् ।


यसैगरी काठमाडौं उपत्यकामा आइतबार ४१ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा १ जना गम्भीर घाइते तथा ३५ जना सामान्य घाइते भएका छन् ।

महाशाखाका अनुसार आइतबार १७ हजार ६ सय ७२ सवारी साधनबाट ९८ हजार ५ सय ३८ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् भने १५ हजार ७८ सवारी साधनबाट ९३ हजार २ सय १४ जना यात्रु बाहिरिएका छन् ।


प्रकाशित मितिः सोमबार, मंसिर ३०, ०६:४३