काठमाडौंः काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ९ सय १५ सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट बिहीबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने ७७ जना, लेन उल्लंघन गर्ने १ सय ३ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने ३६ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ४० जना, टिपर कारबाहीमा ६९ जना, सिसिटिभीमार्फत कारबाही ६६ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने २ सय ५८ जना, अनावश्यक हर्न बजाउने ७० जना, ब्हील लकबाट १ सय ३३ जना र अन्य १ हजार ७३ जना गरी जम्मा १ हजार ९ सय १५ सवारी चालक रहेका छन् ।


यसैगरी काठमाडौं उपत्यकामा बिहीबार ४४ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा १ जनाले ज्यान गुमाएका छन् भने ३६ जना सामान्य घाइते भएका छन् ।

महाशाखाका अनुसार बिहीबार १७ हजार ४ सय ५० सवारी साधनबाट ९९ हजार २ सय २२ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् भने १५ हजार ८ सय ९४ सवारी साधनबाट ९१ हजार ४ सय ५२ जना यात्रु बाहिरिएका छन् ।


प्रकाशित मितिः शुक्रबार, पुस ११, ११:३१