काठमाडौंः काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ८० सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट शुक्रबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने १ सय १ जना, लेन उल्लंघन गर्ने १ सय ४ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने ३९ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ४३ जना, टिपर कारबाहीमा २३ जना, सिसिटिभीमार्फत कारबाही ३५ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने २ सय १६ जना, अनावश्यक हर्न बजाउने ६१ जना, ब्हील लकबाट १ सय ४० जना र अन्य १ हजार ३ सय ८ जना गरी जम्मा २ हजार ८० सवारी चालक रहेका छन् ।


यसैगरी काठमाडौं उपत्यकामा शुक्रबार ४५ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा २ जनाले ज्यान गुमाएका छन् भने १ जना गम्भीर घाइते र १८ जना सामान्य घाइते भएका छन् ।

महाशाखाका अनुसार शुक्रबार १६ हजार ८ सय ८४ सवारी साधनबाट १ लाख ११ हजार ३ सय ५५ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् भने १३ हजार ४ सय ३ सवारी साधनबाट ८७ हजार ४ सय १ जना यात्रु बाहिरिएका छन् ।


प्रकाशित मितिः शनिबार, पुस १२, ०७:०९