काठमाडौंः काठमाडौं उपत्यकामा महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको समयमा भाडा लिएर यात्रु बोक्ने निजी सवारी साधनको चेकजाँचमा कडाइ गरी पक्राउ गर्न थालेको छ ।

चार दिनयता उपत्यकामा भाडा लिएर यात्रु बोक्ने १६ वटा निजी सवारी साधन नियन्त्रणमा लिइएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक बामदेव गौत्तमले जानकारी दिए ।

उनले रातो प्लेटका निजी सवारी साधनले प्रयोजन विपरित यात्रुसँग भाडा लिएर नियम विपरित गरेको पाईएकोले पक्राउ गरिएको बताए ।

ट्राफिक महाशाखाका अनुसार पक्राउ गरिएमा बा १७ च ६७४२, बा १६ च २१७४, बा १७ च १५७२, प्र ३ च ३०७८, बा ३ च ५३९८, को १ च ९६०५, बा ५ च ७५५, बा ५ च ११४, बा १५ च ९६८०, बा १९ च २१८४, बा १५ च २७०६, बा १३ च ५३८५, बा १० च ११९२, बा २० च ४८७७, बा १ ञ ११२०, ज १ च १२६३ नम्बर भएका निजी सवारी साधनहरु रहेका छन् ।


निजी नम्बर प्लेटका सवारी साधनले भाडा लिएर यात्रु ओसारपसार गर्ने गरेको सुचनाको आधारमा ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा चेकजाँचलाई पनि तीव्र बनाएको छ ।

प्रवक्ता एसपी गौत्तमले ती सवारी साधनहरूलाई प्रयोजन विपरित कसुरमा ट्राफिक कारवाही गरी पुनः सोही गल्ती नगर्न निर्देशन गरी छाडिएको बताए ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम प्रयोजनका आधारमा सवारी साधनको नम्बर प्लेट कायम गरिएको र निजी प्रयोजनमा दर्ता भएका रातो नम्बर प्लेटका सवारीले भाडाको काम गर्न नपाउने उल्लेख छ ।


प्रकाशित मितिः शुक्रबार, असार २६, २०७७, ०८:४४