काठमाडौंः सामाजिक सञ्जाल ट्विटरका दुई पूर्व कर्मचारीलाई साउदी अरेबियाको लागि जासुसी गरेको अभियोग लागेको छ । सो सम्बन्धी अभियोग सान फ्रान्सिस्कोमा बुधबार दर्ता गरिएको हो ।

अभियोगअनुसार साउदी गुप्तचरहरुले नाम चलेका साउदी आलोचक तथा अन्य दुई प्रयोगकर्ताका व्यक्तिगत जानकारी मागेका थिए ।

वाशिङ्टन पोस्टले छापेको अदालतका कागजपत्रमा उल्लेख गरिएअनुसार आरोपितहरुमा अमेरिकी नागरिक अहमद अबुआमो र साउदी नागरिक अली अल्जाबराह रहेका छन् ।

अहमद अल्मुतैरी नाम गरेका तेस्रा साउदी नागरिकमाथि पनि जासुसी गरेको आरोप लगाइएको बीबीसीले जनाएको छ ।

अल्मुतैरीले ट्विटरका दुई कर्मचारी र साउदी अधिकारीहरुबीच मध्यस्थकर्ताको काम गरेको आरोप छ ।


अबुआमोलाई बुधबार सीयाटलस्थित अदालतमा उपस्थित गराइएको थियो र अहिले उनी हिरासतमा छन् । अबुआमोविरुद्धको अर्को सुनुवाइ शुक्रवार हुनेछ ।

फर्जी कागजपत्र बनाएको र संघीय अनुसन्धान निकाय एफबीआईसमक्ष गलत बयान दिएको पनि उनीमाथि आरोप लगाइएको छ ।

सन् २०१५ मा ुमिडिया पार्टनरशिप म्यानेजरु पदबाट काम गर्दै गर्दा अबुआमोले जागिर छोडेका थिए।

अली अल्जाबराह र अहमद अल्मुतैरी दुवै जना हाल साउदी अरबमा रहेको विश्वास गरिएको छ ।

साउदी एजेन्टहरुको निर्देशनमा ट्विटरका पूर्वइन्जिनियर अल्जाबराहले सन् २०१५ मा छ हजारभन्दा ट्विटर प्रयोगकर्ताहरुको व्यक्तिगत विवरणमा पहुँच कायम गरेको आरोप छ ।

अनुसन्धानकर्ताहरुका अनुसार त्यसबारे अल्जाबराहका सुपरिवेक्षकहरुले हस्तक्षेप गरेका थिए । पत्नी एवम्‌ छोरीसहित साउदी अरब जानुअघि उनलाई तलबी बिदामा पठाइएको थियो ।

एउटा विज्ञप्तिमा ट्विटरले भनेको छ, ‘विश्वसँग आफ्ना धारणा राख्न र शक्तिमा रहेकाहरुलाई उत्तरदायी बनाउने चाहने हाम्रा प्रयोगकर्ताले सामना गरेको यो अविश्वसनीय जोखिमलाई हामी बुझ्छौँ।’


प्रकाशित मितिः बिहीबार, कार्तिक २१, १०:५१