काठमाडौंः महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूलो आवाज निकाल्ने ३४२ वटा मोटरसाइकललाई कारवाही गरेको छ ।

महाशाखाले विगत १ महिनादेखि चर्को आवाज निकाल्ने ३४२ वटा मोटरसाइकलहरुलाई कारवाही गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै सर्वसाधारणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने र ध्वनि प्रदुषण हुने भएकाले कारवाही गरिएको जानकारी दिए ।

जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको उनले बताए ।


महाशाखाले मोटरसाइकलहरुले ध्वनी प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढङ्गले चलाउने, जिकज्याक रुपमा चलाउने कार्यहरु कानुनविपरित भएकोले कारवाही गरेको हो ।

यस्ता गलत गरी चलाउने मोटरसाइकलको विभिन्न माध्यमबाट नम्बर संकलन गर्नुका साथै निग्ररानीमा राखिएको महाशाखाले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस ९ गते बिहीबार, २०:३९