काठमाडौंः डरत्रास देखाई तथा धम्क्याई रकम ठगी गर्न खोजेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–११ नेपालटार डेरा गरी बस्ने धादिङ निलकण्ठ नगरपालिका–१४ घर भएका ३६ वर्षीय शंकर प्रसाद अधिकारी रहेको प्रहरीले जनाएको छ ।

आफूलाई आलोचना साप्ताहिकको संवाददाता बताउने अधिकारीले काठमाडौंका एक व्यवसायीलाई ‘अख्तियारमा मुद्दा परेको र पक्राउको लागि सिआईबीमा पत्राचार भएकोले मुद्दा हेर्ने सिआईबीका ईन्सपेक्टरलाई ५ लाख रुपैयाँ दिएमा मुद्दा रद्द बनाउने नत्र कुनै पनि समयमा तपाईंलाई प्रहरीले पक्राउ गर्छ’ भन्दै डरत्रास देखाई तथा धम्क्याई सिआईबीको नाममा रकम असूल गरी ठगी गर्न खोजेपश्चात प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई बिहीबार काठमाडौं महानगरपालिका–३ बसुन्धराबाट पक्राउ गरेको हो ।


उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको उक्त ब्यूरोले जनाएको छ ।


प्रकाशित मितिः शुक्रबार, साउन ३०, २०७७, १९:४८