काठमाडौं, २४ जेठ: डाक्टर गोविन्द केसीले ६ बुँदे माग राखेर फेरि आमरण अनसन बस्ने चेतावनी दिएका छन् । डाक्टर केसीले आफ्ना सम्झौताहरु कार्यान्वयन नभए आमरण अनसनसहितका आन्दोलनका कडा कार्यक्रम गर्ने चेतावनी दिएका हुन् ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै डाक्टर केसीले चिकित्सा शिक्षा अध्यादेश दोस्रो पटक जारी भइसकेपनि उचितरुपमा त्यसको प्रतिस्थापन विधेयक ल्याउने काममा राजनीतिक दलहरुले आलटाल गरिरहेका आरोप समेत लगाएका छन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधि २०७५ र शिक्षा मन्त्रालयले हचुवामा गरेका चिकित्सा शिक्षासम्बन्धी निर्णयहरुप्रति समेत डाक्टर केसीले ध्यानाकर्षण भएको बताएका छन् ।


डाक्टर केसीले अब कुनै पनि बहानामा चिकित्सा शिक्षा ऐन रोक्न नहुने भन्दै ऐन जनतामुखी हुनुपर्ने माग राखेका छन् । चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्दै सबै निकायका दोषी पदाधिकारीहरुलाई आयोगको सिफारिस बमोजिम कारवाही गर्नुपर्ने, त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिनुपर्ने माग पनि केसीको छ ।

यस्तै विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा बनेको पदाधिकारी मापदण्ड निर्धारण समितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने, माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल सदाका लागि फिर्ता गर्नुपर्ने र चिकित्सकहरुमाथि हुने धम्की र आक्रमण रोक्न यथोचित कानूनको निर्माण र कार्यान्वयन गर्न डाक्टर केसीले माग गरेका छन् ।