भक्तपुरः भक्तपुरको सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा लापरवाही गरेको भन्दै बिरामीका आफन्तहरुले अस्पतालमा धर्ना दिएका छन् ।

भक्तपुर नगरपालिका स्थित चोर्चा टोलका हाल च्याम्हसिंह बस्ने ४७ वर्षीय लक्ष्मीकुमार लाखाजुको उपचारको क्रममा लापरवाही गरेको भन्दै अस्पतालमा बिहानदेखि धर्ना बसेर नारावाजी गरेका हुन् ।

सामान्य घाँटी दुखेर अस्पतालमा हिडेर नै उपचारका लागि पुगेका लाखाजुको असोज ९ गते इन्डोस्कोपी गर्ने क्रममा डाक्टरको लापरवाहीका कारण स्वास्थ्य अवस्था बिग्रिएको बिरामीका भाई विजेश लाखाजुले बताए ।

बिरामीको स्वास्थ्य अवस्था बिग्रिएपछि अहिले नर्भिक अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको उनले बताए ।


इवामुरा अस्पतालको लापरवाहीका कारण सामान्य विरामी भेन्टिलेटरमा पुगेको भन्दै आफन्तले उपचार खर्चको माग गरेर धर्ना बसेका हुन् ।


प्रकाशित मितिः बिहीबार, असोज १५, २०७७, १४:११