काठमाडौंः डा. गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका छन् । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले २८ औं दिनमा अनशन तोडेका हुन् ।

आज बिहान आयोजित पत्रकार सम्मेलनमा डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । उनलाई आठौं दिनमा काठमाडौं ल्याइएको थियो ।

डा. केसी र सरकारबिच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार एवम् जनशक्तिको प्रबन्ध गरी आउँदो शैक्षिक सत्रदेखि एमबिबिएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, पिसिआर परीक्षण बढाउने तथा कोभिड–१९ तथा अन्य रोगको उपचारका लागि सरकारी अस्पतालको क्षमता बिस्तार गर्ने, अछामको बयलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा दिन बजेट व्यवस्था गर्ने सहमति भएको छ ।


यस्तै विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि प्रस्तावित उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य प्रतिष्ठानसम्बन्धी विधेयकको तीन साताभित्र सुझाबसहितको मस्यौदा तयार पार्ने, कानुनी व्यवस्था नहुन्जेल वरिष्ठता र कार्यक्षमताका आधारमा पदाधिकारी नियुक्त गर्ने  तथा राष्ट्रिय चिकित्सा ऐन संशोधन गर्न गठित कार्यदलको क्षेत्राधिकारभित्र सरकार र डा. केसीबीच १० साउन २०७५ मा भएको सम्झौता अनुसार छुट भएका विषयलाई समेत राख्ने, स्नातकोत्तर तहको सिट विभाजनमा चिकित्सा शिक्षा आयोगको परामर्शमा पुनरावलोकन गर्ने सहमति पनि भएको छ ।

अस्पताल परिसरमा अनशन तोडिदै गर्दा डा. केसीका समर्थकहरुले ‘फेरि आमरण अनशन बस्न नपरोस्’ लेखिएका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए ।


प्रकाशित मितिः २०७७ साल असोज २५ आइतबार, १२:०४