भक्तपुरः भक्तपुरमा एक सातामा मात्रै ९९ जना डेंगु रोग विरामी भएको पुष्टि भएको छ। देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा महामारीका रुपमा फैलिँदै गएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अनुसार जिल्लामा आज बिहानसम्म ९९ जना विरामीमा डेंगु रोग रहेको पुष्टि भएको छ ।

कार्यालयले यो रोगको संक्रमण बढ्दै गएको बताएको छ । अहिले प्रत्येक टोल, गल्ली र विद्यालयहरु डेंगु रोगको जोखिममा रहेको पनि कार्यालयको भनाइ छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपाने टोल, नगर, विद्यालय लगायतका हरेक क्षेत्रमा यस रोगबारे जनचेतनामूलक कार्यक्रमहरु भइरहेको जानकारी दिई सबै क्षेत्रमा खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने र फोहरहरु नराख्ने कार्य गर्नुपर्ने बताए।


यता भक्तपुर नगरपालिका क्षेत्रमा मात्रै ४० जना डेंगु रोगका विरामी फेला परिसकेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए।

उनले भक्तपुर नगरपालिका क्षेत्रभित्रका ३७ र यहाँ आएका अन्य क्षेत्रका तीन जना गरी ४० जनामा डेंगु रोग भएको बताए।

उनले भक्तपुर नगरपालिकाले डेंगु रोग नियन्त्रणसम्बन्धी वडा र विद्यालयमा अभिमुखीकरण कार्यक्रम, खाल्डाखुल्डी पुर्ने र चुन तथा फिनेल छर्ने, घरदैलो नर्सिङ सेवामार्फत डेंगु रोगबारे सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको बताए।

 


प्रकाशित मितिः बुधबार, भदौ २५, १४:३३