भक्तपुरः केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा पनि शिवरात्रिमा दर्शन गर्न आउने भक्तजनहरुले अनिवार्य मास्क लगाउनु पर्ने भएको छ ।

हजारौंको संख्यामा मन्दिरमा आउने भक्तजनको संख्यालाई ध्यानमा राखेर सरकारले तोकेका सबै स्वास्थ्य मापदण्ड पालना गर्दै दर्शनको व्यवस्था मिलाइएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ ।

मन्दिरमा दर्शन गर्न भक्तजनले मास्क अनिवार्य रूपमा लगाएर आउनुपर्ने तथा सेनिटाइजर लगाउने र भौतिक दूरी कायम राख्नुपर्ने गरी लाइनको व्यवस्था गरिएको महाशिवरात्री पर्व मूलसमितिका संयोजक तथा समितिका बरिष्ठ उपाध्यक्ष सुर्यबहादुर खाइतुले जानकारी दिए ।


उनका अनुसार बिहीबार परेको शिवरात्रिका लागि तयारी पुरा भएको छ ।

महाशिवरात्रीका दिन सुरक्षा व्यवस्थाका लागि महानगरीय प्रहरी वृत्त जगातीबाट सुरक्षाकर्मी तथा विभिन्न संघसंस्थाबाट स्वयंसेवक परिचालन गरिने समितिले जनाएको छ । नेपाली सेनाको इन्द्र बक्स गण सूर्यबिनायकबाट स्वास्थ्य शिविर, नेपाल मानव सेवा संघले प्रसाद वितरण गर्ने छ । यस्तै, नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखा र नेपाल मानव सेवा संघको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिनेछ । समितिले नागा बाबालाई मन्दिर परिसरमा धुनी जगाई बस्नको लागि दाउराको समेत व्यवस्था गरेको छ ।

महाशिवरात्रि दर्शनका लागि भारत तथा नेपालका विभिन्न स्थानबाट साधुसन्त आएका छन् । नागा बाबा, भंगी, जोगी र अघोरी बाबा लगायतका साधुसन्तले मन्दिरको क्षेत्र रोमाञ्चित बनेको छ । परम्पराअनुसार जोगी, सन्त, महन्थलाई महाशिवरात्रीका भोलिपल्ट बिदाइ गरिने समितिले जनाएको छ ।

वार्षिक कार्यक्रम अनुसार शिवरात्रीका दिन सर्वसाधारण भक्तजनहरुका लागि मन्दिरका चारै ढोका बिहान ५ बजेदेखि राति १२ बजेसम्म खुल्ला हुने समितिका बरिष्ठ उपाध्यक्ष खाइटुले बताए । उक्त मन्दिर वर्षको तीन दिन मात्र सर्वसाधारण भक्तजनहरुका लागि मन्दिरका चारै ढोका खुल्ला हुने र बाँकी दिनमा पुजारीहरुको लागि मात्र मन्दिरको ढोका खुल्ला रहने समितिले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २६ गते बुधबार, १२:४९