त्रिपुराकोटः हिमाली जिल्ला डोल्पामा दुई दिनदेखि सिडिएमए टेलिफोन सेवा अवरुद्ध भएको छ ।

दुर्गमको भरपर्दो मोबाइल सेवा नै अवरुद्ध भएपछि डोल्पाली जनता समस्यामा परेका छन् । दुर्गम विकट जिल्लालाई सुगम क्षेत्रसँग जोड्दै सुगम र विकट बीचको दूरी कम गराउने माध्यम सिडिएमए फोन सेवा नै अवरुद्ध भएकाले शीघ्र सञ्चालन गर्न डोल्पालीले आग्रह गरेका छन् ।

दुई दिनदेखि सिडिएमएको टावर छैन, कुना कन्दरा, जंगल सबै ठाउँमा लाग्ने सिडिएमए टावर नहुँदा एक ठाउँबाट अर्को ठाउँमा सम्पर्क गर्न ठूलो समस्या भएको छ ।

सिडिएमए टावर नहुँदा थ्रिजी इन्टरनेट सेवासमेत बन्द भएको छ । दूरसञ्चार कार्यालय डोल्पाले भने कालीकोट र जुम्लाको सिमानामा पर्ने माईथाप्लामा रहेको रिपिटर टावरमा न्यून भोल्टेजका कारण डोल्पामा पनि यस्तो समस्या देखिएको छ ।


बिहीबारसम्ममा टावर सञ्चालन हुने जनाइएको छ ।