काठमाडौं: जनसंख्या वृद्धि सँगै काठमाण्डौंमा ढल व्यवस्थापन एक जटिल समस्या बन्दै गएको छ । ढलको राम्रो व्यवस्थापन गर्न नसक्दा उपत्यकाका सौन्दर्य झल्काउने खोला नालाहरु आज दुर्गन्धित र रोगको मुहानमा परिवर्तन भएका छन् । पानी पर्ना साथ उपत्यकाका गल्लि तथा सडकहरु अधिकाँश जलमग्न हुने गरेका छन् । सरकारले सडक विस्तार र खाने पानी पाइपको वितरणमा प्राथमिकता दिँदा   ढल व्यवस्थापनमा भने उचित योजना ल्याउन चुकेको छ ।

विगत केहि वर्ष देखि विभिन्न विकासका कार्यक्रमले उपत्यकाको स्वरुप फेरिँदै छ । सडक र खानेपानी पाइप विस्तार गर्दा सरकारले ढल व्यवस्थापन र पानी निकाशलाई प्राथमिकता दिन नसक्दा उपत्यका डुबानमा पर्ने खतरामा रहेको छ ।


। उपत्यकामा पानी पर्नासाथ सडकहरु नदीझैं जलमग्न हुने गरेका छन् भने भित्री बाटोका विद्यमान ढल प्रणालीमा क्षमता भन्दा बढी बहाव हुनेगर्दा बाहिर बग्ने तथा ढल फुट्ने जस्ता समस्याहरु देखिन्छ । यस्तै मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ आएपछि उपत्यकामा दैनिक १७ करोड लिटर पानीको बहाव बढ्ने छ जून विद्यमान ढल प्रणालीले धान्न सक्दैन । यस तर्फ सरकारले ध्यान नदिँदा उपत्यकावासी जलमग्न सडकबाट छुटकारा नपाउने भएका छन् ।

उपत्यकाको ढल व्यवस्थापनमा देखिएको समस्या

उपत्यकामा ढल, खानेपानी सडकसँग सम्बन्धित सरकारी निकायहरु बीच राम्रो समन्वयन नहुँदा ठाउँठाउँमा ढल र खाने पानीको पाईप फुटेर खाने पानी प्रदुर्षण भइराखेको छ। अव्यवस्थित ढलको कारणले वातावरण प्रदूषण बनाएको त छ नै मानव स्वयंमा  समेत गम्भीर समस्या निम्त्याई राखेको छ । ढल व्यवस्थापनकालागि स्पष्ट नीतिको  अभाव,  अव्यवस्थित ढल निकास, सरकारी निकायहरु बीच  समन्वय नहुन, कसले के गर्ने भन्ने अलमल हुनु ,  भएका संरचना समेत सदुपयोग  हुन नसक्नु जस्ता समस्या देखापरेका छन् ।

सरकारी निकायहरु बीच राम्रो समन्वयन र कडा काननु नभएको हुँदा ढल निर्माणका कार्य आ-आफ्नो पाराले भएका छन् । हाल उपत्यकामा ढल र आकासे पानी बगाउने छुटाछुट्टै च्यानल नभएकाले सबै पानी एकै ठाउँमा मिसाएर  बगाउने गरिन्छ । आकासे पानीलाई बाटोको किनारबाट खुल्ला ढल बनाएर र ढललाई पाईपबाट खोलामा फालिन्छ । काठमाण्डौं उपत्यकामा ४०० वटा भन्दा बढी ठाउँमा वर्षका पानी बग्ने च्यानलबाट ढल खोलामा जान्छ । हाल ढलको विषयमा  कुनै पनि ठोस नीति र योजना नभएको हुँदा यसको व्यवास्थापनमा कठिनाई आएको छ ।

उपत्यकामा हाल १,३४० कि.मि. ढलका सन्जाल रहेको रेकर्ड छ । त्यसबाहेक  पनि  अव्यवस्थित रुपमा ढलहरू रहेको तर त्यस्ता सन्जाल कहाँ छ र कस्तो अवस्थामा छ भन्ने रेकड कसैसँग छैन । ढल निर्माणका कार्य आ-आफ्नो पाराले भएको हुँदा उपत्यकामा कुन ठाउँमा कस्तो किसिमको  ढल छ र कति  छ भन्ने विवरण नभएको हो। ढलको अवस्था बारे जिम्मेवार निकाय सँग पर्याप्त जानकारी नहुँदा यसको व्यवस्थापनमा समस्या देखिएको छ ।

हाल काठमाण्डौंमा रहेको प्रशोधन केन्द्रहरुको क्षमता भन्दा धेरै कम काम भइ राखेको छ। करोडौं खर्च गरेर बनाएका प्रषोधन केन्द्रहरुले काम गर्न नसकेको कारण त्यसको वरपरको स्थानमा दुर्गन्ध र संक्रमण फैलने अवस्थाको सिर्जना भएको छ।

ढल निकास विभागको प्रगति र योजना     

खानेपानी तथा ढल निकास विभागले आफ्नो स्थापनाको ४६ वर्ष बित्दा समेत आवश्यकता अनुसार पुरानो ढल संरचनालाई विकास गर्न सकेको छैन । विभागले अहिले मागका आधारमा १०७ आयोजनाको ढल निर्माणसम्बन्धी मापदण्ड तयारी र गुरुयोजना निर्माण गर्ने काम गरिरहेको छ । नागरिकले प्रयोग गर्ने पानीमध्ये ८० प्रतिशत प्रयोग गरेपछि खेर जाने भएकाले त्यहीअनुसारको गुरुयोजना विभागले बनाउँदै आएको छ ।

हस्तिनापुर ढल निर्माण तथा प्रशोधन आयोजना बूढानीलकण्ठ, स्युचाटार ढल निर्माण तथा प्रशोधन आयोजना कलंकी, ढल्पा चिखु ढल निर्माण तथा प्रशोधन आयोजना कीर्तिपुर, चपली ढल निर्माण तथा प्रशोधन आयोजना बूढानीलकण्ठ, शान्तिमिलन ढल निर्माण तथा प्रशोधन आयोजना टोखा, डाँछी ढल निर्माण तथा प्रशोधन आयोजना कागेश्वरी र गोलढुंगा विश्वशान्ति ढल निर्माण तथा प्रशोधन आयोजना बूढानीलकण्ठ काठमाडौँमा निर्माण हुन लागेका आयोजना हुन् । ढल व्यवस्थापनका लागि काठमाडौँ उपत्यका ‘बेष्ट वाटर म्यानेजमेन्ट’ परियोजनासमेत काम गरिरहेको छ ।

 

सुझाव र निष्कर्ष

उपत्यकामा ढलको व्यवस्थापन एकदमै नाजुक अवस्थामा रहेको छ र यसलाई समयमै उचित निर्णय र योजना बनाउन नसके यो समस्या भावी पुस्ताले समेत झेल्नु पर्ने देखिन्छ । त्यसैले काठमाण्डौ उपत्यकाको ढल व्यवस्थापन, पुराना वस्तीहरुमा ढल निकासी, नयाँ वस्तीमा अत्याधुनिक ढल व्यवस्थापन जस्ता सन्दर्भमा अध्ययन गरी उचित योजना बनाई त्यस अनुरुप कार्य गर्नुपर्ने हुन्छ । ढल र आकासेपानी बगाउने छुट्टाछुट्टै च्यानल भए आकाशे पानीको सदुपयोग गरी ढल व्यवस्थापनमा समेत सहयोग पुर्याउछ।  बढ्दो जनसंख्या अनुसार ढलको क्षमता बढाउने तर्फ सरकारले ध्यानकेन्द्रित गर्नु पर्छ  ।

मयाङ्क घिमिरे